डीपीएल अपडेट : विराटनगरको पहिलो जित

फाल्गुन १, २०७५
डीपीएल अपडेट : विराटनगरको पहिलो जित

- विनोद पाण्डे/कञ्चन अधिकारी


 



धनगढी -विराटनगर किंग्सले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ मा पहिलो जित हात पारेको छ । बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्ससँग भएको खेलमा विराटनगरले २१ रनको जित हात पारेको हो । धनगढीको यो लगातार तेस्रो हार हो । हारसँगै धनगढी दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।


विराटनगरले खेलेको दुई खेलमध्ये १ खेलमा विजय हात पार्दै दोस्रो चरणको यात्राको सम्भावना जिवितै राखेको छ ।टस जितेर ब्याटिङ गरेको विराटनगरले धनगढी स्टार्सलाई दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा अल आउट हुन पुग्यो ।


अल आउट हुनुअघि धनगढीले ८२ रन बनायो । धनगढीको तर्फबाट सन्दीप रजाइलीले ३४ र राजु रिजालले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ विराटनगरका कप्तान करण केसी र अविनाश यादवले ४/४ विकेट लिए भने सुशन भारीले २ विकेट लिए । 


यसअघि विराटनगरका अविनाश यादवले २७, कप्तान करण केसीले २१, आसिफ शेखले १२ र सम्साद शेखले ११ रन बनाए । हरिशंकर साह २, कुशल भूर्तेल ५, असादउल्लाह खान ३, राजेश पुलामी १ र पृथु बाँस्कोटा ६ रनमा आउट भएका थिए ।


धनगढीका कप्तान सोमपाल कामीले ३ ओभरमा ८ रन खर्चेर र विपिन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ३/३ विकेट लिए । रबिन क्षत्रीले २ तथा सुनील धमलाले १ विकेट लिए ।विराटनगरले मंगलबार रुपन्देही च्यालेन्जर्ससँग ५ विकेटको हार व्यहोरेको थियो ।


धनगढीले यसअघि काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियासँग हार्न पुगेको थियो ।