डीपीएल अपडेट : पानीले खेल रद्द हुँदा विराटनगर र महेन्द्रनगरले अंक बाँडे

फाल्गुन २, २०७५
डीपीएल अपडेट : पानीले खेल रद्द हुँदा विराटनगर र महेन्द्रनगरले अंक बाँडे

- कान्तिपुर संवाददाता

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत बिहीबार विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द बनाएको छ । टस जितेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाइ ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो ।


त्यसपछि पनि निरन्तर पानी परिरहेपछि खेल रद्द हुन पुगेको थियो। दुवै टोलीलाई १/१ अंक बाँडिएको छ । विराटनगरले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो २ खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।


विराटनगरबाट ओपनर असादउल्ला खानले १९ रन बनाए । २३ बल खेलेका उनले ३ चौका र पहिलो ओभरमा मोहम्मद नाविदलाई १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रनमा आउट भए ।


माथिल्लो क्रममा ओपनर आसिफ शेख शुन्य, हरिशंकर साह ५ र कुशल भूर्तेल ३ रन बनाइ आउट भएका थिए । कप्तान करण केसी ६ बलमा १ छक्का प्रहार गरी ९ रनमा अविजित रहे ।


महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाविदले १ विकेट लिएका थिए । शुक्रबार विश्रामको दिन रहेको छ ।