डीपीएल अपडेट : शनिबारका दुवै खेल रद्द

फाल्गुन ४, २०७५
डीपीएल अपडेट :  शनिबारका दुवै खेल रद्द

- विनोद पाण्डे/कञ्चन अधिकारी

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबारका कुनै खेल भएनन् । पश्चिम वायुले बिहीबार अपरान्हदेखि पारेको पानीले फाप्ला क्रिकेट मैदान जलाम्य भएपछि खेल एक बल पनि नफ्याली रद्द भएको हो ।


शनिबार पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच र दोस्रो धनगढी स्टार्स र महेन्द्रनगरबीच हुने तालिका थियो । खेल नभएपछि यी चारै टोलीलाई १/१ अंक दिइएको छ । खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।


काठमाडौं ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । विराटनगरको ४ अंक छ । महेन्द्रनगरको चार खेलमा २ र धनगढीको १ अंक रहेको छ । विराटनगर र महेन्द्रनगरले बिहीबार खेल वर्षाका कारण रद्द भएपछि १/१ अंकमा नै चित्त बुझाएका थिए ।