डीपीएल अपडेट : धनगढी जितबिहीन, रुपन्देही प्ले अफमा

फाल्गुन ६, २०७५
डीपीएल अपडेट : धनगढी जितबिहीन, रुपन्देही प्ले अफमा

- कान्तिपुर संवाददाता

रूपन्देही च्यालेन्जसले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरी रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो ।


बिहानै फाप्ला क्रिकेट मैदानमा हुस्सु लागेपछि खेल निर्धारित समय भन्दा सवा १ घण्टा ढिलो भएको थियो । खेल ढिलो सुरु भएपछि २० ओभरबाट १५ ओभरमा झारिएको थियो ।


लगातार २ पटकको धनगढीले तेस्रो संस्करणको यस प्रतियोगितामा कुनै पनि जित निकाल्न सकेन । वर्षाले खेल रद्द भएपछि शनिबार धनगढीले महेन्द्रनगरसँग १/१ अंक बाँडेको थियो । रुपन्देहीले भने ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो ।


धनगढीको तर्फबाट पवन सर्राफले सर्वाधिक १५ रन बनाए । त्यस्तै कप्तान सोमपाल कामी ११ र सन्दीप रजाइलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् ।


बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले ३ तथा बिक्रम सोबले २ विकेट लिए । बसन्त रेग्मी, पुनित मेहेरा र भीम सार्कीको नाममा १/ विकेट रह्यो ।


यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीको तर्फबाट सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी, बाबर हायत र बिक्रम सोबले बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् ।


भण्डारी २४, हायत १९ र सोब ११ रनमा आउट भए ।


बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले २/२ विकेट लिए । अमिर हायत र रोहन मुस्तफाले १/१ विकेट लिए ।