सीवाइसी अत्तरिया डीपीएल-३ च्याम्पियन

फाल्गुन ११, २०७५
सीवाइसी अत्तरिया डीपीएल-३ च्याम्पियन

- कान्तिपुर संवाददाता


सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।सीवाइसीले पहिलोपल्ट उपाधि उचालेको हो ।


महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएर पूरा गर्‍यो । अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहोरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए ।


पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे । अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए ।अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।


बलिङतर्फ महेन्द्रनगरका महोम्मद नाभेद र अविनाश बोहोराले २/२ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दीलिप नाथले ४३ रन बनाए ।


४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए ।


महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए । अत्तरियाका दीपेन्द्र रावतले २ ओभरमा ११ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २/२ विकेट लिए ।


सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए । फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाएका छन् ।


तेस्रो र चौथो हुनेले क्रमशः ४ लाख र २ लाख पाएका छन् । यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले  उचालेको थियो ।